
काठमाडौँ । एक महिनाको अवधिमा आगलागीमा परी १५ जनाले ज्यान गुमाएका छन् । गत वर्षको चैत महिनामा देशभर भएका आगलागीको घटनामा उनीहरुले ज्यान गुमाएका हुन्।
ज्यान गुमाउनेमा ७ जना पुरुष, ७ जना महिला र १ जना बालिका रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आगलागीमा परेर ९६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार तीमध्ये ४२ जना पुरुष, ४५ जना महिला, ३ जना बालक र ६ जना बालिका छन् । आगलागीबाट ३९ जना विस्थापित भएका छन् ।
प्रहरीका अनुसार चैत महिनामा कूल १ हजार ३२१ वटा आगलागीका घटना भएका थिए । सबैभन्दा बढी कोशी प्रदेशमा ४३४ वटा आगलागीका घटना भएका थिए । त्यस्तै, मधेस प्रदेशमा १६१ वटा, बागमती प्रदेशमा १७९ वटा, उपत्यकामा ६८ वटा, गण्डकी प्रदेशमा ९० वटा, लुम्बिनी प्रदेशमा २२७ वटा, कर्णाली प्रदेशमा ६२ वटा तथा सुदूरपश्चिम प्रदेशमा १०० वटा आगलागीका घटना भए ।
एक महिनाको अवधिमा ३५४ वटा घर र २५६ वटा गोठमा क्षति पुगेको प्रहरीको भनाई छ । यसबाट ३०६ वटा चौपायामा समेत क्षति पुगेको छ । आगलागीबाट ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ बराबरको धनमालमा अनुमानित क्षति पुगेको छ ।























