
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ओली बिनाको एमाले कसैले कल्पना गरेको भए पूरा नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नै कसैले हतार गर्न नहुने बताए ।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले एमालेविनाको देश पनि कल्पना गर्न नहुने बताए । ‘कसैले एमाले बवनाको देशको पनि कल्पना गरेका छन् । केपी ओली बिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भने, ‘एमालेविनाको नेपाल हेरौंला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौं ।’
अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने दावी पनि गरे ।
























