
काठमाडौं । दुर्लभ वन्यजन्तु हिउँचितुवाको संख्या नेपालमा ३ सय ९७ रहेको तथ्यांक सार्वजनिक गरिको छ । यो विश्वमै संकटापन्न अवस्थामा रहेको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)का अनुसार यो संख्या विश्वमा पाइने हिउँचितुवाको १० प्रतिशत हो । विश्वमा अनुमानित ३ हजार २० देखि ५ हजार ३ सय ९० को संख्यामा हिउँचितुवा रहेको अनुमान छ ।
नेपालमा हिउँचितुवाको बासस्थान ३० हजार ५ सय वर्गकिमी क्षेत्रफलमा फैलिएको आईयूसीएनले जनाएको छ । विश्वमा हिउँचितुवाको बासस्थानमध्ये नेपालमा २ प्रतिशत रहेको छ ।
आईसीएनका अनुसार १० प्रतिशत हिउँचितुवा पाइनुले नेपालको जैविक विविधताको समृद्धता प्रष्ट पार्छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठका अनुसार चीनमा २ हजारदेखि २ हजार ५ सय, मंगोलियामा ९ सय ५३, भारतमा ७ सय १८ र भुटानमा १ सय ३४ हिउँचितुवा छन्।
नेपालमा सबैभन्दा धेरै हिउँचितुवा डोल्पामा छन् । त्यहाँ ९० वटा हिउँचितुवा फेला परेका छन् । श्रेष्ठका अनुसार सन् २०१५ देखि २०२४ सम्म क्यामेरा ट्रयाप, दिशाको आनुवंशिक परीक्षणलगायत अत्याधुनिक प्रविधिको प्रयोग गरेर हिउँचितुवाको अध्ययन गरिएको थियो।
वन मन्त्रालयले ‘हिउँचितुवा संरक्षण र कार्ययोजना २०२४–२०३०’ लागू गरेको छ। यसले बासस्थान सुधार, चोरी सिकारी नियन्त्रण, मानव–हिउँचितुवा द्वन्द्व न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको छ। कार्ययोजना कार्यान्वयनका लागि १ अर्ब ७७ करोड ९७ लाख रूपैयाँ खर्च हुने अनुमान छ ।
छुट्याइएकोमध्ये ३५ प्रतिशत बजेट द्वन्द्व न्यूनीकरण र २६ प्रतिशत वन्यजन्तु अपराध नियन्त्रणमा खर्च गरिनेछ। हिउँचितुवाका ६० प्रतिशत बासस्थान निकुञ्ज बाहिर छन् ।
जसका कारण संरक्षणमा खण्डिकरण, पासो, विष प्रयोग, भौगोलिक कठिनाइ, प्रविधि र जनशक्तिको अभावजस्ता चुनौती रहेका छन्। आईयूसीएनको रेड लिस्टमा सूचीकृत यो बिरालो प्रजाति समुद्री सतहबाट ५ सय ४० देखि ५ हजार मिटर उचाइमा पाइन्छ ।
यसले आफ्नो लामो पुच्छरले शरीर सन्तुलनमा राख्छ । नेपालको संरक्षण प्रयासले हिउँचितुवाको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्ने आशा गरिएको छ।

























