
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेन्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।
नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका ब्राजिलियन लेजेन्ड कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनबारे महत्त्वपूर्ण छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्लाइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीहरू सँग भेट्न पाउँदा खुसी लागेको बताए । ५२ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिल राष्ट्रिय टिमबाट खेलेका थिए ।

























