
विराटनगर । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ रुद्रबारीमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को २ त ७९३४ नम्बरको ट्याक्टर पछाडिको टायर पन्चर भएर दिउँसो २ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टायर पन्चर भएपछि सडकमै अनियन्त्रित बनेको ट्याक्टरबाट खसेर सहचालक साँगुरीगढी गाउँपालिका–७ का २० वर्षीय विवेक थापाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक किसान राई फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । ट्याक्टर घटनास्थलमै छ । प्रहरी टोली घटनास्थल पुगेको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ ।

























