संघीय संसदको बर्खे अधिवेशन आजदेखि सुरु हुँदै

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार ०६:१८

काठमाडौं । संघीय संसदको आज (शुक्रबार)बाट सुरु हुने बर्खे अधिवेशनको पहिलो बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरेका थिए ।

हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य गरिएको थियो । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा अधिवेशन आह्वान र मन्त्रिपरिषद्मा भएको हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको जानकारी गराइने छ ।

विभिन्न राजनीतिक दलका नेताहरूले पहिलो बैठकमा सम्बोधन गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संससमा सम्बोधन गर्ने छन् ।

संसदको बर्खे एवं बजेट अधिवेशनको पहिलो बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ संसदमा प्रस्तुत गर्ने सम्भावना छ। यो विधेयक बजेटअगावै संसदमा प्रस्तुत हुन लागेको महत्वपूर्ण आर्थिक विधेयकमध्ये एक हो ।

यही अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गरिन्छ। संविधानमा भएको व्यवस्था अनुसार जेठ १५ गते अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

त्यसअघि वैशाख १९ गते राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममार्फत संघीय संसदलाई सम्बोधन गर्नेछन्। संसद सचिवालयले वैशाख २८ गतेदेखि प्री–बजेट छलफल सुरु गर्ने तयारी गरेको छ।

बजेट अघि ‘विनियोजन विधेयक’का सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनेछ। यस अधिवेशनमा लामो समयदेखि प्रतीक्षित रहेको संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयकहरू पारित हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.