
धनुषा । धनुषामा भएको विष सेवन घटनामा तीन सन्तान र तिनका आमाको मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको हो ।
रामजानकी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी उनीहरुकी आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए ।
त्यसै दिन ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया आरुसीको मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।
९ महिनाकी गर्भवती पवितालाई शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लगेका थिए ।
पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।

























