
विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्ट्रोकको उपचारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् ।
उनले शुक्रबार इटहरीमा नेपाल स्ट्रोक एसोसिएसनले आयोजना गरेको ‘स्ट्रोक मास्टर क्लास’ कार्यक्रममा बोल्दै मन्त्री राईले स्ट्रोकको उपचारलाई विशेष प्राथमिकतामा राखेको बताए ।
उनले पछिल्लो समय स्ट्रोक तथा पक्षाघातका बिरामीहरू निकै बढिरहेको हुँदा यसलाई गम्भीर रूपमा ध्यान दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।
स्ट्रोकका बिरामी घटेका होइनन्, बढेका छन् । जनप्रतिनिधि र विज्ञहरू बिच समन्वयको अभाव छ । तर प्रदेश सरकारले समन्वय र सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको, मन्त्री राईले भने ।
उनले आगामी वर्षका लागि बन्ने नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिइने स्पष्ट पारे । मन्त्री राईका अनुसार सरकार हातेमालो गर्दै स्वास्थ्य प्रणालीलाई बलियो बनाउने दिशामा कार्यरत छ ।
समयमै नीति निर्माण र कार्यान्वयन गर्न सकिएन भने हाम्रो सपना अधुरै रहने छ, उनले थपे । स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्नका लागि विज्ञ टोलीसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता पनि मन्त्री राईले जनाए ।
कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष तथा नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजङ थापाले गुणस्तरीय स्वास्थ्य उपचारका लागि सामाजिक जिम्मेवारी महसुस गर्दै काम गर्नुपर्ने बताए ।
उनले स्ट्रोकको उपचारप्रति देखिएको बेवास्ता हटाउन चिकित्सकहरू थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा. संजयकुमार शर्मालगायत देशभरका वरिष्ठ न्युरोलोजिस्टको उपस्थिति रहेको थियो ।
नेपाल स्ट्रोक एसोसिएसनले आयोजना गरेको मास्टर क्लासमा पक्षाघात (स्ट्रोक) सम्बन्धी नयाँ अध्ययन, उपचार विधि र जनचेतनामूलक प्रयासहरूबारे चर्चा गरेका थिए ।

























