
काठमाडौं । विभिन्न ३ प्रदेशमा आज (शनिबार) चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीसँगै तराईका जिल्लामा तातो हावाको लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको महाशाखाले उल्लेख गरेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा बिहान आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा छ रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हिमपातको समेत सम्भावना छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा राति हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो हावाको लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ । यी २ प्रदेशको तराईका भू–भागहरूमा तातो लहरको सम्भावना रहेको हो । मौसमको फेरबदलले जनजीवन प्रभावित हुन सक्ने उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

























