
काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अर्काे सहकारी ठगीमा मुद्दा चलाउन प्रहरीले राय दिएकाे छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणकाे अनुसन्धानपछि प्रहरीले लामिछानेलाई मुद्दा चलाउन राय दिएकाे हाे ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दा चलिरेकाे छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रका अनुसार गत शुक्रबार अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । प्रहरीले १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागसहित मुद्दा चलाउन राय दिएको छ । प्रहरीले ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव दिएको छ ।
प्रहरीले मुद्दा चलाउन सिफारिस गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्न राय दिएको छ । पूर्वडीआईजी छविलाल जोशीसँग भने ३ करोड २४ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको राय छ ।
सहकारी ठगी प्रकरणको मुख्य नाइके भनिएका जीबी राईविरुद्ध १० करोड ८१ लाख बिगो मागदाबी हुनुपर्ने राय प्रहरीको छ । देवकुमार नेपालीसँग १५ करोड ५३ लाख रुपैयाँ बिगो मागदाबी हुनुपर्ने राय छ ।
सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।

























