
ताप्लेजुङ । आइतबार साँझ ताप्लेजुङमा आएको हावाहुरीले स्थानीयको घर तथा गोठमा क्षति गरेको छ । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बढी क्षति गरेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार मिक्वाखोला गाउँपालिका –२ खोक्लिङ वैराखुका विनोद शेर्पाको घर हावाहुरीले उडाएको छ ।
काठपात र जस्तापाताको प्रयोग गरी निर्माण भएको शेर्पाको एकतले घर हावाहुरीले पल्टाएर पूर्णरुपमा क्षति गरेको थियो ।
हावाहुरीले शेर्पाको घर उडाएर पल्टाउँदा करिव पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।
फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा पनि हावाहुरीले घर तथा पशुचौपाया राख्ने गोठका छाना उडाएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार हावाहुरीले मयाम टोलका स्थानीय मानबहादुर लिम्बूको घरको छाना उडाएको छ । मयामकै धनबहादुर लिम्बूको भान्सा घरको छाना र सुरबहादुर खत्रीको बस्तुगोठको छाना उडाएको छ ।
हावाहुरीले फुरुम्बुका विभिन्न ठाउँमा रुखहरु ढलेर विद्युत सेवा अवरुद्ध भएको छ ।
आइतबारको हावाहुरीले जिल्लाका अन्यत्र क्षेत्रमा पनि क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

























