
विराटनगर । संखुवासभाको खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको बोलेरो जिप अरुण नदीमा खसेर बेपत्ता भएको छ ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार २ जना सवार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो धनर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो । बोलेरोमा गाडी धनी खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय रमेश राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङ सवार थिए ।
उनका अनुसार गाडीसँगै नदीमा खसेका दुवै जनाको उद्धार गरिएको छ । उनीहरुलाई पानीमा तैरिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएको बस्नेतले बताए । तुम्लिङटारमा उपचार भइरहेका दुवै जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
बोलेरोलाई स्थानीयको सहयोगमा नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको उनको भनाइ छ । ‘नदीमा खसेको बोलेरो देखिँदैन । खोजी कार्य जारी छ,’ बस्नेतले भने । डीएसपी बस्नेतसहितको टोली घटनास्थल पुगेर बोलेरोको खोजीमा जुटेको छ ।
पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित बनेलगत्तै सोमबार दिउँसो २ः४५ बजेतिर बोलेरो जिप नदीमा खसेको पाइएको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार बोलेरोको ठक्करबाट चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका छन् । उनको पनि अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
यसअघि प्रकाशित समाचारमा २ जनाको उद्धार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.

























