यस्तो छ आजको मौसम, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार ०६:१९

काठमाडौं । मुलुकका विभिन्न प्रदेशमा आज (मंगलबार) वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । हाल देशको मौसममा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बिहान आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको तराईको केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका १–२ स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा गर्मीको अवस्था रहिरहने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.