सवारी लाइसेन्सको अवधि १० वर्ष बनाउने विधेयक पारित

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १२:२५

काठमाडौं । प्रतिनिधिसभाले सवारी लाइसेन्स (सवारी चालक अनुमतिपत्र)को अवधि १० वर्ष बनाउने विधेयक पारित गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लाइसेन्सको अवधि ५ वर्ष रहेकोमा केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा रहेको ५ बर्से व्यवस्थाको सट्टा १० वर्ष भन्ने शब्द राखिएको छ ।

प्रतिनिधिसभाबाट पारित विधेयक अनुसार नवीकरण गर्दा पनि अब लाइसेन्स १० वर्षका लागि नवीकरण हुनेछ । उक्त विधेयक अघिल्लै सरकारका पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ल्याएका थिए ।

२०८० साल वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयक दफाबार छलफलका लागि २०८० भदौ २९ गते विषयगत समितिमा पठाइएको थियो । समितिबाट पास भएर २०८१ वैशाख १४ गते प्रतिनिधिसभामा पुग्यो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट विधेयक पारित गरेको हो । अब राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुखमार्फत पुगेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले ऐनको रुप धारण गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.