
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा बिथोलिएको छ ।
दुई पार्टीबीच आज एकता घोषणा गर्ने तयारी थियो । एकता घोषणाका लागि काठमाडौँस्थित प्रज्ञा भवन पुगेका बेला चौधरी पक्राउ परेका थिए । कार्यक्रम स्थलबाट सादा पोशाकमा रहेका प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चौधरी पक्राउ परेपछि एकता घोषणा रोकिएको जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले बताएको छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,’ राउतको सचिवालयले भनेको छ,‘ यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’
























