
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले कारागार कार्यालय डिल्लीबजारमा चाैधरीलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।
यसअघि पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वाेच्चले बताएकाे छ ।
पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१/१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घाेषणाका लागि आयाेजित कार्यक्रम स्थलबाट बुधबार दिउँसाे चाैधरी पक्राउ परेका थिए । उनी पक्राउ परेपछि पार्टी एकता घाेषणा राेकिएकाे थियाे ।


























