अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार ०६:५५

काठमाडौं । यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (बिहीबार) परेको छ । प्रत्येक वर्ष मे १ तारिखका दिन संसारभर यो दिवस मनाउने गरिन्छ ।

मजदुर आन्दोलनको सम्झना तथा संसारभरका मजदुरको सम्मानमा मनाइने यसलाई मे दिवस र मजदुर दिवससमेत भन्ने गरिन्छ । नेपालमा पनि विविध कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।

आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर ७ जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि सन् १८९० देखि हरेक वर्ष अँग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा मनाउने गरेका छन् । दिवससँगै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने गर्छन् ।

दिवसका अवसरमा नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गर्ने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसर पारेर सार्वजनिक बिदा दिन थालियो ।

यसवर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनले सभालगायतका विविध कार्यक्रमको तयारी गरेका छन् । मजदुरका पक्षका आवाज बुलन्द गर्ने हिसाबले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.