उद्योग संगठन मोरङले गर्यो श्रमिकको सम्मान

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १७:४७

विराटनगर । उद्योग संगठन मोरङले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का  अवसरमा ३ जना श्रमिकलाई सम्मान गरेको छ ।

श्रमिक दिवसका अवसरमा श्रमिक र रोजगारदाता बीचको सहकार्यलाई प्रोत्साहन गर्दै सुनसरी –मोरङ औद्योगिक कोरिडोरको उद्योगमा कार्यरत ३ जना श्रमिकलाई उद्योगमा दीर्घ सेवा पुर्‍याए बापत सम्मान गरिएको हो ।

इटहरीको रिजाल टासीमा ३५ वर्षदेखि कार्यरत वसन्ती पोखरेल, हुलास मोटर्समा ३१ वर्षदेखि कार्यरत श्यामकुमार कामत र हिमालयन खाद्य एवं प्याकेजिङ उद्योगमा २८ वर्षदेखि निरन्तर सेवा दिइरहेकी सीता अधिकारी सम्मानित भएका हुन् ।

उनीहरूलाई संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन काबरा, पूर्व अध्यक्षहरू तथा ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयुक्त रूपमा सम्मान पत्रसहित नगद प्रदान गरे ।

श्रमिक दिवसका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संगठनका अध्यक्ष सुरानाले उद्योगको उत्पादनशीलता अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माणमा श्रमिक र रोजगारदाताको साझा भूमिकाको आवश्यकता रहेको बताए ।

उनले उद्योगी र श्रमिकबीचको निरन्तर संवाद र सहकार्यले आपसी सम्बन्ध प्रगाढ बनाउने र असल श्रम सम्बन्ध विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

मई दिवसले श्रमिक वर्गलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने भन्दै आर्थिक क्षेत्रका चुनौतीहरू सामना गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अध्यक्ष सुरानाले बताए ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय समिति कोशी प्रदेशका संयोजक टीका प्रसाईं शुभकामना मन्तव्य दिँदै यस प्रकारको कार्यक्रमले श्रमिक र रोजगारदाता बीचको सम्बन्धलाई थप नजिक बनाइ श्रमिकमा सकारात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा संगठनका पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, उद्योगी / व्यवसायीहरू, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.