राजतन्त्र फर्काउने योजनाविरुद्ध लाग्न प्रधानमन्त्रीको आह्वान

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १८:१७

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने योजना विफल पार्न आह्वान गरेका छन् । राजतन्त्र फर्काउने योजनाविरुद्ध लाग्न उनले मजदुरहरुलाई आह्वान गरेका हुन् ।

ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरुद्ध सचेत हुँदै खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरे । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)ले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिमा लाग्न आग्रह गरेका छन् ।

फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको उनको भनाइ छ । उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेको ओलीले बताए ।

‘शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् ? भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले सभ्यता र संस्कृतिमा चुनौती दिइरहेका छन्,’ ओलीले भने ।

राजतन्त्रको सपना पालेर अराजकता मच्चाउनेलाई सही जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ । हामी समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्ष लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौं,’ उनले भने ।

जनताले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामी आफैंले गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो झन्डा ख्याल ख्यालमा रातो भएको होइन । मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झन्डामा रगत लतपतिएकाले रातो भएको हो,’ मजदुरलाई ढाडस दिँदै ओलीले हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.