
विराटनगर । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएकी छन् ।
यद्यपि, उनको मृत्युको विषयमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । विश्वविद्यालयले पनि आफ्नै हिसाबले छानबिन गरिरहेको छ । उक्त घटनाको वास्तविकता पत्ता लगाउनलाई अनुसन्धान एवं छानबिनका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनाले मर्माहत भएको उल्लेख गरेकी छन् । उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिइन् ।
पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् । केआईआईटीमै अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल गत फागुन ४ गते होस्टलमा मृत फेला परेकी थिइन् ।
करिब अढाई महिनापछि सोही विश्वविद्यालयमा अध्ययनरत अर्की छात्रा पनि मृत भेटिएकी हुन् । परराष्ट्रमन्त्री राणाले प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै परिवाजनमा समवेदना व्यक्त गरेकी छन् ।

परराष्ट्र मन्त्रालयले घटना भएलगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको उनको भनाइ छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।
मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्ने गरी शव सुरक्षित गरिएको उनको भनाइ छ । भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनामा प्रति दुःख व्यक्त गरेको छ ।
घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ । कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी विद्यार्थी संघ संगठनले दिएका छन् ।
हवस्























