ढोरपाटनमा ११ नाउर र ७ झारलको सिकार

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार ०९:३८

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा ११ नाउर र ७ वटा झारलको सिकार भएको छ ।

यसवर्षको दोस्रो सिकारयाममा ११ नाउर र ७ झारल मारिएका हुन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गर्दै १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रा.लि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रा.लि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ वटा कम्पनीले अनुमति पाएका थिए ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले चैत २६ गतेदेखि सिकारीहरु सिकाल खेल्न ढोरपाटन आएको जानकारी दिए ।

सिकारीले सुनदह ब्लकमा २ नाउर र २ झारल, घुस्तुङ ब्लकमा ३ नाउर र ३ झारल, दोगाडी ब्लकमा ४ नाउर र १झारल, फागुने ब्लकमा १ नाउर र १ झारल तथा बार्सेमा १ नाउरको सिकार गरेको सुवेदीले बताए । सिकारीहरुले बँदेलको सिकार गर्न भने सकेनन् ।

सिकार खेल्ने दोस्रो याम फागुनदेखि वैशाख १६ गतेसम्मको थियो । हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौंले सिकारीमार्फत २ नाउर, २ झारल र २ बँदेलको अनुमति पाएकोमा एउटा नाउर र एउटा झारलको मात्र सिकार गर्न सकेको छ ।

ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लिमार्फत अमेरिकन सिकारीले २ नाउर र २ झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेका छन् । हिमालयन सफारिज प्रा.लि काठमाडौंमार्फत सिकारीले ३ नाउर र १ झारलका लागि अनुमति पाएकोमा सबैको सिकार भएको छ ।

ग्लोबल सफारिज नेपाल प्रा.लिमार्फत सिकारीले २ नाउर, १ झारल र २ बँदेलको अनुमति पाएकामा २ नाउर र १ झारलको मात्रै सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपिडिसन प्रा.लिमार्फत सिकारीले ३ नाउर, ३ झरल र ३ बँदेल सिकार गर्ने अनुमति पाएकामा २ नाउरको मात्र सिकार गरेका छन् ।

ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रा.लिमार्फत सिकारीले १ नाउर, २ झारल र ३ बँदेलको सिकार गर्न अनुमति पाएकामा १ नाउर र २ झारलको सिकार गरेका छन् ।

दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएको सुवेदीले बताए । ढोरपाटनमा हरेक वर्ष असोजदखि मंसिरसम्म पहिलो र फागुनदेखि वैशाखसम्म दोस्रो सिकारयाम चल्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.