विश्व प्रेस स्वतन्त्रता दिवस आज, राष्ट्रपति पौडेलले दिए शुभकामना

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २०, शनिबार ०७:०५

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस आज (शनिबार) परेको छ । प्रत्येक वर्ष मे ३ मा संसारभर यो दिवस मनाउने गरिन्छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।

घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यसयता विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइन्छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा तथा पेसागत सुरक्षाको वकालत गर्ने गरिन्छ ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले पनि कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण, अग्रज पत्रकार सम्मान तथा क्यालेन्डर विमोचन कार्यक्रम राखेको सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।

यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग गर्दै सञ्चार जगत् रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । उनले राज्यका अंगहरुलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न तथा आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पौडेलको भनाइ छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त रहेको उनले बताए ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ,’ राष्ट्रपति पौडेलले भने । प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने उनको भनाइ छ ।

शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत गर्ने बताउँदै उनले समग्र समाजको लोकतान्त्रीकरणको अभियानमा प्रेस स्वतन्त्रता महत्त्वपूर्ण पक्ष भएको पौडेलले उल्लेख गरेका छन् । प्रेस तटस्थ, स्वतन्त्र र सबल हुँदा लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ ।

‘हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेकाले सूचना संकलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाधरूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो,’ राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुन्छ ।’

समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले अफवाहले नागरिकहरूलाई दिग्भ्रमित गर्ने बताए । सही बिचार निर्माण गर्नमा समस्या नहुने गरी स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही एवं सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्नेमा उनको जोड छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने कतिपय मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रा सामु रहेको उनले उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले विभिन्न चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.