मोरङ कारागारका थुनुवाको मृत्यु

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १२:१९

विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको आज (आइतबार) बिहान मृत्यु भएको छ ।

ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार अचानक श्वासप्रश्वासमा समस्या भएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

तामाङको उपचारकै क्रममा आइतबार बिहान ४ बजेतिर मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनी अदालतको आदेशबाट २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए ।

उनीविरुद्ध दर्ता भएको ठगी मुद्दा विचाराधीन छ । मुद्दा किनारा नलागिकन तामाङको मृत्यु भएको हो । ‘अस्पताल भर्ना गर्दा अवस्था सामान्य थियो,’ जेलर ढुंगेलले भने, ‘अचानक मृत्यु भएको खबर आयो ।’

शवलाई कोशी अस्पतालमै राखिएको छ । घटनाका बारेमा तामाङको परिवारलाई खबर भइसकेको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि थप प्रक्रिया अघि बढाउने ढुंगेलले बताए ।

पछिल्लो समय मोरङ कारागारमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु हुने क्रम बढेको छ । पछिल्लो १ सातामा मात्रै २ जनाको मृत्यु भइसकेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको वैशाख १५ गते मृत्यु भएको थियो । दनुवार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।

लगातार बन्ता गर्न थालेपछि उनलाई उपचारका लागि चैत १३ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको जेलर ढुंगेलले बताए । दनुवार २०७८ साल असार ७ गते कारागार चलान भएका थिए ।

कारागारमा रहेका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको ढुंगेलले बताए । राज्यको नियन्त्रणमा रहेका कैदीबन्दी एवं थुनुवाको मृत्यु भइरहँदा कारागारभित्रको सुरक्षालाई लिएर चिन्ता थपिएको छ ।

मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा आइतबार बिहानसम्ममा १ हजार ३८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये नाबालक ३, महिला १ सय ७ र पुरुष ९ सय २८ रहेका हुन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेका कारण कारागारको अवस्था भद्रगोल बनेको छ । कैदीबन्दीलाई खाने, बस्ने र सुत्ने ठाउँको समेत अभाव भइरहेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.