
विराटनगर । सुनसरीको इटहरीमा निर्माणाधीन घरको छतबाट लडेर आज (आइतबार) बिहान नेपाल प्रहरीका १ जना असई (प्रहरी सहायक निरीक्षक)को मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–२० तरहरामा निर्माणाधीन घरको छतबाट लडेर असई ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार आफ्नै निर्माणाधीन घरमा पानी हाल्ने क्रममा चिप्लिएर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगरको आर्या अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । कटवालले तरहरामा २ तले घर बनाउँदै थिए ।
उक्त घरको छतबाट लडेर पानीको नालामा पुगेको जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएको हो ।
केही दिनअघि मात्रै छुट्टीमा आएका कटवाल धनकुटामा कार्यरत थिए । उनका १ पत्नी र २ छोरी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।

























