
विराटनगर । झापामा मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर दुर्घटना हुँदा आइतबार राति १ जनाको मृत्यु भएको छ ।
चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर भद्रपुर नगरपालिका–४ झापा चोकमा राति ८ः४५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटरको पछाडि सवार भद्रपुर–२ का अन्दाजी ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । स्कुटर र चालक दमक नगरपालिका–२ का २९ वर्षीय रविन फुयाँललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक फुयाँल र पछाडि सवार लिम्बू दुवै जनाले मापसे गरेको पत्ता लागेको छ । मापसे गरेर चलाएका कारण स्कुटर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

























