इटहरीमा ‘ग्याङ फाइट’ : ४ जना घाइते

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार ०८:०२
सांकेतिक तस्बिर

विराटनगर । सुनसरीको इटहरीमा २ समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ‘ग्याङ फाइट’मा दोहोरो हानाहान हुँदा ४ जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इटहरी उपमहानगरपालिका–२० धनपुरी टोलमा आइतबार बिहान ११ बजेतिर दोहोरो झडप भएको हो । इटहरी–२० का ४० वर्षीय बाबु भनिने वीरेन बुढाथोकी र उनका सालो तत्काल नाम नखुलेको इकुले भनिने युवक तथा १९ वर्षीय सुशान जंग घिमिरे, इटहरी–२ का २३ वर्षीय अरुण राई र २५ वर्षीय पारस भनिने किरन राईबीचको विवाद ‘ग्याङ फाइट’मा परिणत भएको जानकारी खतिवडाले दिए ।

झडपमा वीरेन, सुशान, अरुण र किरन घाइते भएका छन् । घाइतेलाई उपचारका लागि इटहरीको बेदान्त हस्पिटल र तरहरा सामाुदायिक हस्पिटलमा भर्ना गरिएको थियो ।

केहीलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । सुशान र अरुण तथा इटहरी–२ का नितेश बुढाथोकीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो । मध्यम अवस्थाका किरनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनामा संलग्न इकुले भनिने भनिने युवक फरार रहेकाले खोजी भइरहेको डीएसपी खतिवडाले बताए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘ग्याङ फाइट’मा संलग्नबीच पुरानो रिसईबी रहेको पत्ता लागेको छ । उनीहरुबीचको पुरानो रिसईबीका बारेमा प्रहरीले खुलाएको छैन । थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.