
काठमाडौं । हेटौँडामा जमिनमा भासिएर एउटा गाडी बेपत्ता भएपछि खानी तथा भूगर्भ विभागको एउटा टोली अध्ययन गर्न आइपुगेको छ ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सिमाना नजिक गैरीगाउँको भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप गाडी जमिन भासिएर बेपत्ता भएको थियो ।
उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिनमै भासिएर बेपत्ता भएको थियो ।
गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको ४ जनाको टोली मंगलबार बिहान हेटौँडा आइपुगेको हो ।
अध्ययनका लागि आएको टोली गाडी भासिएर हराएको स्थानको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्ने जनाएको छ ।
विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए ।
घटना स्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको बताइएको छ ।
टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने छ । म्याग्नेटो मिटरको आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था पत्ता लाग्ने छ ।
लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानको अध्ययनका लागि भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।























