
जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि नेकपा एमाले धनुषा जिल्लाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ । एमालेको दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको हो ।
झडपमा ५ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले नेता भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको थियो । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि पनि हातपात भएको छ ।
जिल्ला अधिवेशनको क्रममा आज बिहानैदेखि दुई पक्षबीच विवाद भएको थियो । निर्वाचन प्रक्रियामा धाँधली गरेको भन्दै रघुवीर महासेठइतर पक्ष धर्नामा समेत बसेको थियो ।
दुवै पक्षबीच विवाद बढ्दै जाँदा कुर्सी तोडफोड भएको थियो । मंगलबार दिउँसो भने कुटाकुट भएको हो ।
वैशाख २० गतेदेखि सुरु अधिवेशनमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
























