
काठमाडौं । गत शुक्रबारदेखि जमिनमुनि भासिएर हराएको गाडी बुधबारसम्म फेला पर्न सकेको छैन ।
हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमाना गैरीगाउँमा गत शुक्रबार जमिन भासिँदा बेपत्ता भएको बोलेरो भ्यान फेला परेको छैन ।
भूगर्भ विभागबाट आएको टोलीले समेत गाडीको खोजी गर्दै आए पनि फेला नपरेपछि बुधबार (आज) बाट खोजी कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
गाडी नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाको आग्रहमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको थियो ।
बुधबार दिउँसोसम्म अध्ययन गरे पनि गाडी दबिएको क्षेत्र वरपरको जमिन थप भासिन थालेपछि सुरक्षा जोखिमका कारण खोजी कार्य रोकिएको अधिकारीले जानकारी दिए ।
अध्ययनका क्रममा भूगर्भविद् टोलीले धातु पत्ता लगाउने उपकरणमार्फत जमिनको भित्री सतहको जाँच र ८ मिटर गहिराइसम्म माटोको परीक्षण गरेको थियो ।
अहिलेसम्मको अध्ययन र तथ्यका आधारमा प्रतिवेदन तयार पार्ने अधिकारीले बताए ।























