राजावादीले काठमाडौं केन्द्रित आन्दोलनमा देशभरबाट सहभागी भेला गर्ने

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १४:२१

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि सुरु हुने काठमाडौं केन्द्रित आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी भेला गर्ने भएको छ ।

समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आज (आइतबार) बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरेको हो ।

काठमाडौँका जनता र सबै वर्ग, पेसा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने समेत निर्णय भएको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकलाई सम्बोधन गर्दै सुवेदीले आन्दोलन घोषणा सभापछि पहिलो पटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको बताए । उनले भने, ‘वातावरण अत्यन्त अनुकूल भएको छ । अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना हुने सम्भावना बलियो भएको छ ।’

बैठकले मोर्चामा रहेका दल, संघसंस्था र अभियानहरूको काठमाडौँ उपत्यकाव्यापी प्रदेश, जिल्ला, क्षेत्रीय अध्यक्ष र पालिका अध्यक्षहरू तथा वर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक वैशाख २८ गते राप्रपा केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको छ ।

जेठ १५ गतेदेखि हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय पनि भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.