
काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । समितिका संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै बस्नेतलाई पक्राउ गर्ने सरकारको कदमको निन्दा गरेका हुन् ।
संयुक्त जनआन्दोलन समितिका सदस्यसमेत रहेका बस्नेतलाई पक्राउ गरेर सरकारले मानवअधिकार हनन् गरेको सुवेदीको भनाइ छ । साथै तीनकुने घटनामा उनको कुनै संलग्नता नरहेको सवेदीले स्पष्ट पारेका छन् ।
‘राष्ट्र राष्ट्रियता र धर्म संस्कृतिको रक्षार्थ क्रियाशील व्यक्तित्व बस्नेतलाई सरकारले संयुक्त जनआन्दोलन समितिको बैठकस्थल नवदुर्गा पार्टी प्यालेसबाट गैरजिम्मेवार रुपमा पक्राउ गरेको छ,’ समितिले भनेको छ, ’मानव अधिकार र प्रजातान्त्रिक अधिकार हनन् गर्ने सरकारको यस कदमको हामी घोर निन्दा गर्दछौँ । तीनकुने गोलीकाण्डमा बस्नेतको कुनै संलग्नता छैन, तैपनि शान्तिकामी नागरिकलाई यसरी आतङ्कित तुल्याउने कार्य सरकारले छोडेको छैन ।’























