
बुटवल । भारत र पाकिस्तानलाई युद्ध नगर्न सुझाव दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन् ।
‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ,’उनले भने,‘ हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौं । उहाँहरूसँग पनि कुरा गर्यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको उनले बताए ।
























