
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउने घोषणा गरेका छन् । आज (सोमबार) लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए। उनले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको उल्लेख गर्दै भारत र पाकिस्तानबिच हात हालाहालको स्थिति आएको अवस्थामा हामी संयमित हुनुपर्ने बताए ।
उनले विश्वका मानवको अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे । बुद्धको सन्देश र उपदेश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन र सिद्धान्त ऐतिहासिक महत्त्वका रहेको बताए ।























