
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा ‘मुसा’का कारण विवाद देखिएको छ । पार्टी केन्द्रीय उपमहासचिव कोशी प्रदेश आएका बेला प्रदेशका नेताले फेसबुकमा ‘मुसा’ लेखेपछि विवाद भएको हो ।
शर्मा प्रदेश यात्रामा आएका बेला प्रदेश सचिवालय सदस्य मदन चुँडालले ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । नेता शर्मालाई लक्षित गरी स्टाटस लेखेको भन्दै प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोध्न निर्णय गरेको छ । चैत २७ गते बसेको माओवादी केन्द्र प्रदेशको सचिवालय बैठकले चुँडाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । तर आलोचना भएपछि प्रदेश कमिटीले पत्र काटेको छैन ।
‘प्रदेश परिषद बैठकबाट पारित अनुशासन सम्बन्धी कार्यविधि विपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुनेगरी सामग्री सम्प्रेषण गर्नु भएकोले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश समितिले मातहतका कमिटीलाई पठाएको सर्कुलरमा भनिएको छ ।
प्रदेश कमिटीले नेतृत्वलाई मुसा भनेका कारण स्पष्टिकरण सोध्ने निर्णय गरेपनि चुँडाल भने आफ्नो पार्टीमा कोही नेताको नाम ‘मुसा’ नभएको बताउँछन् । प्रदेशले जवरजस्ती उपमहासचिव शर्मालाई मुसा उपनाम दिन खाेजेकाे उनले बताए ।
स्टाटस भने उनले हटाइसकेका छन् । शर्माप्रति इंकित नगरेको बताउँदै उनले स्पष्टिकरण नदिने जानकारी दिए । ‘प्रदेशले पार्टी उपमहासचिवको बदनाम गर्न खाेज्याे,’ उनले भने,‘ उपमहासचिवको बदनाम गर्ने निर्णयविरुद्ध केन्द्रीय समितिमा निवेदन दिन खोजिरहेको छु ।’
माओवादी केन्द्रको तराई मधेश हुलाकी राजमार्ग लक्षित अभियान छोडेर पार्टी उपमहासचिव जनार्दन शर्माले चैत ८ गतेदेखि काेशी प्रदेशमा भेटघाट अभियान चलाएका थिए । उनले विराटनगरदेखि ताप्लेजुङसम्मको यात्रा गरे । उनीसँग कोशी माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबो र पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेता थिए ।
प्रचण्डसहितका नेता अभियानमा पश्चिम नेपालमा भएका भेला शर्मा भने पूर्व आएपछि माओवादी केन्द्रको संस्थापन पक्ष असन्तुष्ट बनेको थियो । सोही असन्तुष्टि ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भन्दै चुँडालले व्यक्त गरेका थिए । त्यसपछि जनार्दन समूहका प्रदेश कमिटी अध्यक्ष नेम्वाङले स्पष्टिकरण सोध्ने निर्णय गराएका थिए ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो नेतृत्वलाई लक्षित गरी स्टाटस लेखेका कारण स्पष्टिकरण सोध्ने निर्णय भएको बताए । यद्यपि स्पष्टिकरण पत्र भने काटिएको छैन । ‘नेतृत्वलाई लक्षित गरी लेखेको हो कि भन्ने थियो, उहाँले होइन भन्नु भएको छ,’ उनले भने,‘ मौखिक रुपमा हामीले सोधेका छौं ।’

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला उनीमाथि ‘मुसा’को ट्याग लागेको थियो । बजेट निर्माणका बेला निजी क्षेत्रका प्रतिनिधिलाई पनि सामेल गराएको विषयमा सार्वजनिक आलोचना भएपछि अर्थ मन्त्रालयको सीसी क्यामेरा फुटेज माग गरिएको थियो । फुटेज माग गर्दा मन्त्रालयले मुसाले तार काटेको जवाफ दिएपछि शर्मा को नामको पछाडि ‘मुसा’ शब्द जोडेर सार्वजनिक आलोचना भएको थियो ।
























