
काठमाडौं । पूर्वी नवलपरासीको चोरमारास्थित पूर्वपश्चिम राजमार्गको गिरिबारी पुल भासिएपछि अवरुद्ध भएको सवारी वैकल्पिक सडक मार्फत खुला भएको छ ।
सोमबारदेखि अवरुद्ध बिपी राजमार्ग भने अझै खुलेको छैन ।
पूर्वपश्चिम राजमार्गमा पर्ने पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला (हाल पानी नभएको) तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ ।
पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको प्रहरीले जनाएको छ ।
सोमबारको अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको बिपी राजमार्ग भने अझै सञ्चालनमा आएको छैन । बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन सोमबार राति बगाएको थियो । त्यसपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

























