३६ करोडमा तयार भयो मोरङ कारागारको नयाँ भवन

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १७:०७

विराटनगर । जिल्ला कारागार मोरङको नयाँ कारागार भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् ।

कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, नाला सडकलगायत संरचना निर्माण भएको छ ।

कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नयाँ भवनसँगै पुरानो भवन पनि कैदीबन्दी राखिनेछ । आशिष, आशिर्वाद,स्वामीनारायण जेभीले २०७८ सालमा दुई वर्ष भित्र निर्माण सक्नेगरी ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले गत पुसमा निर्माण सम्पन्न गरेको थियो ।

कारागार विभागका महानिर्देशक भट्टराईका अनुसार नयाँ ब्लक निर्माण भएपछि मोरङ कारागारको क्षमता बढेको छ । नयाँ भवनमा २१८ जना पुरुष र ९९ जना महिला कैदीबन्दी राख्ने क्षमता छ । याेसँगै अब मोरङ कारागारकाे क्षमता ४६८ पुरुष र १५९ जना महिलासहित ६१७ पुगेको छ । यसअघि महिला पुरुष गरेर ३०० जना अटाउने क्षमता थियो । तर क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको थियो । मंगलबार मोरङ कारागारमा कैदीबन्दीको संख्या ९३२ पुरुष र १०९ महिला, ३ जना नाबालकसहित १ हजार ४४ जना कैदीबन्दी छन् ।

कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको अधिकारका लागि राज्यले काम गरिरहेको बताए । उनले कारागारलाई सुधार गृहकाे रुपमा अघि बढाइएकाे बताए ।

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ। सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘ मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ। मानिस उत्पादनसँग जोडिन्छ। आयआर्जन हुन्छ। त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौं।’

मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ। ‘कारगारबाट बाहिर निस्किँदा मानिस नयाँ चेतना र नयाँ सोचका साथ समाजमा फर्किएर जान्छ। कैदीबन्दीलाई उद्योमशील बनाउन कारागारलाई आधुनिक बनाइँदै छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.