
विराटनगर । विराटनगरबाट सञ्चालित डिजिटल पत्रिका (अनलाइन) खबर पूर्वाञ्चलले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव कार्यक्रमका सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एक मात्र विकल्प बनेको बताए ।
उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको औँल्याए ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताए ।
उनले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाउँदै, अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उनले थपे ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गरे ।
उनले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भने, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ ।’
नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।























