पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ३१, बुधबार १८:५९

विराटनगर । प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर क्षेत्रमा केबलकार निर्माण अघि बढाउने बाटो खुलेको छ ।

पाथीभरा मन्दिरसम्म निर्माणाधीन केबलकारको काम रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढाउनलाई बाटो खुलेको हो ।

Advertisement

न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै केबलकार निर्माण तत्काल रोक्नुपर्ने कानुनी आधार नदेखिएको ठहर गरेको छ । रिट निवेदकले केबलकारले धार्मिक, सांस्कृतिक तथा वातावरणीय क्षति पुर्याउने दाबी गर्दै काम रोक्न माग गरेर रिट दायर गरेका थिए ।

तर, सर्वोच्चले विस्तृत छलफल र प्रमाणका आधारमा मात्र अन्तिम निर्णय हुने भन्दै अन्तरिम रूपमा काम रोक्नुपर्ने अवस्था नरहेको जनाएको हो । यससँगै अब निर्माण कम्पनीले कानुनी अड्चनबिना केबलकार निर्माण कार्यलाई निरन्तरता दिन सक्नेछ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्ने गरेका छन् । केबलकार बनेपछि तीर्थयात्रीहरूलाई थप सजिलो हुने अपेक्षा गरिएको छ । तर, परियोजनाको विरोध गर्ने पक्षले मन्दिरको धार्मिक महत्व र वातावरणमा असर पार्ने तर्क गरेर केबलकार निर्माणको विरोध गर्दै आएको थियो ।

केबलकार निर्माणमा बारम्बार अवरोध गर्दै आएको समूहले सर्वोच्चमा रिटसमेत दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले केबलकार निर्माणको बाटो तत्काललाई खुला गरे पनि मुद्दाको फैसला आउन बाँकी छ ।

सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म परियोजनाले पूर्वनिर्धारित योजना अनुसार केबलकार निर्माण अघि बढाउन सक्ने छ । सर्वोच्चले मुद्दाको किनारा लगाएपछि भने त्यस अनुसार नै अघि बढ्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.