कोशी प्रदेश सुरक्षा गोष्ठी : अपराध र आन्दोलन चुनौती

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १९:५३

विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीले प्रदेशमा लागूऔषध, साइबर अपराध, सीमापार हुने तस्करी र राजावादी आन्दोलन मुख्य सुरक्षा चुनौती रहेको निष्कर्ष निकालेको छ ।

विराटनगरमा बुधबार भएको गोष्ठीले लागूऔषध, साइबर अपराध, सीमा वारपार हुने तस्करी र राजावादी आन्दोलनलाई मुख्य चुनौतीको रुपमा रहेको निष्कर्ष निकालेको हो । गोष्ठीले चुनौती समाधानका अधिकतम सतर्कता अपनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए ।

उनका अनुसार गोष्ठीले राज्यले प्रवाह गर्ने सेवा प्रवाहलाई पनि चुस्त र नागरिक मैत्री बनाउने निष्कर्ष पनि निकालेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सेवालाई नागरिक मैत्री बनाइनेछ, त्यसपछि प्रमुख जिल्ला अधिकारीले अन्य कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन सहजिकरण गर्नेछन् ।

गोष्ठीले तत्काल योजना बनाएर सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्ने निष्कर्ष पनि निकालेको छ ।

गोष्ठीको उद्घाटनका क्रममा गृहमन्त्री रमेश लेखकले ३० दिन भित्र योजना बनाएर भारतबाट हुने तस्करी नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

‘तस्करी तुरुन्त रोक्नुहोस्, यसका लागि एक्सन प्लान बनाउनुहोस्,सीमा क्षेत्रमा हुने तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ,’ उनले भने,‘ आजको ३० दिन भित्र अनुभूति हुनेगरी देखिनेगरी तस्करी रोकिनुपर्छ, तपाईहरुले एक्सन गर्नुहोस् ।’

सुरक्षा निकायलाई निर्देशन दिदै उनले भने,‘ यदी तपाईहरुले रोक्ने एक्सन गर्नुभएन भने गृह मन्त्रालय अर्को एक्सनमा जान्छ ।’

उनको निर्देशनपछि गोष्ठीले तस्करी रोक्नका लागि तत्काल काम सुरु गर्ने निष्कर्ष निकालेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.