
विराटनगर ।नेकपा (एमाले)का लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जिल्ला अदालत माेरङकाे फैसला बमाेजिमकाे बिगाे रकम बुझाएका छन् । बुधबार उनले बिगाे बुझाएका हुन् ।
जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथाेकीका अनुसार कानुन व्यावसायी मार्फत प्रतिवादीले बिगाे बापतकाे रकम बुधबार बुझाएका हुन् । बिगाे बुझाएपछि पक्राउ नगर्नका लागि अर्काे पत्र लेखिएकाे उनले बताए । उनका अनुसार देवानी मुद्दामा विगाे बापतकाे रकम बुझाएका कारण कैदमा बस्नु पर्दैन ।
पन्थीका साथै सोही मुद्दामा ६ महिना कैदका लागि पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रालिका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो ।
अदालतले पठाएको पत्रमा भनिएको छ,‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१–०१–३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१–१–३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ ।’
प्रहरीलाई पठाएकाे पत्रमा भने मिति फरक परेकाे सूचनाअधिकारी बुढाथाेकीले बताए ।
यसअघि पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी भएको थियो । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थीत गराउन पत्राचार गरेको थियो ।
गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामाग्री उधारोमा उपलब्ध गराएको थियो । गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । सो मध्ये पल्लवी इलेक्ट्रा प्रा.लिलाई ५ लाख रुपैयाँ दिएको थियो । बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधिश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सो रकम नबुझाएपछि ६ महिना कैदका लागि अदालतले आदेश दिएको थियो ।

























