
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवलाई आफ्नै सम्पत्ति उपभोगका लागि परिवारका सदस्यले अवरोध गरेका छन् ।
डाक्टर यादवका पति (श्रीमान) सुशील यादवको मृत्यु भइसकेको छ । पतिको मृत्युपछि सम्पत्ति उपभोगका लागि ससुरा र देवरले अवरोध गरेका हुन् ।
डा. यादवले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै न्यायको माग गरेकी छन् । कानुनी रूपमा प्राप्त सम्पत्ति पनि स्वतन्त्र रूपमा भोगचलन गर्न नपाएको उनको गुनासो छ ।
डा. यादवका पति सुशीलको २०८१ साल जेठ ३१ गते निधन भएको थियो । पतिको नाममा रहेको सम्पत्ति उपभोगका लागि सुनसरी जिल्ला अदालत र उच्च अदालत विराटनगरले अनुमति दिइसकेको छ । तर, उनलाई ससुरा डाक्टर शीतलप्रसाद यादव र देवर सुनील यादवले अवरोध गरिरहेका छन् ।
सम्पत्ति उपभोगका लागि जाँदा आफूमाथि अवरोध भएको उनले बताइन् । परिवारबाट धम्की आइरहेको बताउँदै उनले शान्ति सुरक्षाको पनि माग गरेकी छन् । ‘फैसला आएपछि मैले आफ्नो जग्गामा टहरा बनाउने, पानीको कल गाड्ने र बिजुली जडान गर्ने प्रयास गरेकी थिएँ । तर बुढीगंगा गाउँपालिकाका कर्मचारीहरूले जग्गा विवादित रहेको भन्दै मलाई काम गर्न दिएनन्,’ डा. यादवले भनिन्, ‘ममाथि ठूलो अन्याय भएको छ ।’
उनका अनुसार ससुरा र देवरको प्रभावका कारण स्थानीय तहका कर्मचारीले पनि पक्षपातपूर्ण व्यवहार गरेका छन् । आफुमाथि धम्की, मानसिक यातना र चरित्र हत्याको प्रयास भइरहेको गुनासो उनले गरिन् ।
रोग लुकाएर विवाह
डाक्टर यादवले एमबीबीएस अध्ययनकै क्रममा सन् २०११ सालमा सुशील यादवसँग विवाह गरेकी थिइन् । त्यसबेला सुशीलको रोग लुकाएर आफूसँग विवाह गराएको उनको दाबी छ । उनले विवाहपछि मात्रै पतिलाई सिजोफ्रेनीया (एक प्रकारको मानसिक रोग) रहेको जानकारी पाएकी थिइन् ।
पतिको रोगका विषयमा सोध्दा सासू परिनिता यादवले पटक–पटक मानसिक यातना दिएको उनको गुनासो छ । विवाहपछि परिवारबाटै अपहेलित भएकी उनले माइतीको सहयोगबाट पढाइ पूरा गरिन् ।
उनले पति र घर परिवारको माया पाइनन् । परिवारबाट तिरस्कृत भएपछि २०७९ सालमा पतिविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको पक्षमा फैसला गरेको थियो ।
गत वर्ष पतिको मृत्यु भएका कारण पतिको नाममा रहेको सम्पत्तिको भोगचलन गर्ने अधिकार उनलाई छ । तर, ससुरा र देवरले उनको सम्पत्ति हत्याउने प्रयास गरिरहेका छन् । आफ्नो जग्गा भोगचलन गर्न नदिएर पटक–पटक मानसिक यातना दिएको बताउँदै उनले सम्पत्ति भोगचलन गर्ने वातावरण मिलाइदिन आग्रह गरिन् ।
उनका ससुरा डाक्टर शीतलप्रसाद यादवले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । टेलिफोन सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन नमानेका हुन् ।























