बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध

Share this
826shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १०:१३

पाँचथर । पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने होवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । शुक्रबार बिहान आएको बाढीले ह्युमपाइप बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।

ह्युमपाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक, सिंहापुर र थर्पुसँगै ताप्लेजुङका विभिन्न स्थानमा हिँडेका साधन मध्यपहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्यतर्फ जान थालेका छन् ।

भालुचोकदेखि सुभाङ खोला हुँदै हेवा खोला आइपुगेका यात्रुबाहक र मालबाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान, इलाम र झापातर्फ लागेका छन् । यहाँ लगाएको बेलिब्रिज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुन: ह्युमपाइप राखेर पानी कटाउँदै यातायात सुरु गराइएको थियो ।

यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर करिडोर आयोजनाको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले शुक्रबारको बाढीले बगाएका ह्युमपाइप एक्स्काभेटरले तानेर पुनः मर्मत गर्दै यातायात सञ्चालन गर्न पहल भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.