
काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज (शनिबार) परेको छ । भण्डारी जनताको बहुदलीय जनवाद (जबज)का प्रणेतासमेत हुन् ।
मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ । नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितले २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा ज्यान गुमाएका थिए ।
एमालेले विगत वर्षहरूजस्तै काठमाडौंको मदन नगर बल्खुमा स्मृति कार्यक्रम राखेको छ । स्मृति कार्यक्रमलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको एमालेले उल्लेख गरेको छ । एमालेले हरेक वर्ष जेठ ३ गते देशभर विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउने गरेको छ ।
























