
काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा आज (शनिबार) बिहानैदेखि वर्षा भइरहेको छ । विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी एवं अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव कायमै छ । जसका कारण मौसममा परिवर्तन देखिएको छ।
कोशी र बागमती प्रदेश लगायत पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ । अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी र बागमती प्रदेशका केही ठाउँ तथा तराईका क्षेत्रमा दिउँसो आंशिकदेखि सामान्य बदली रही कतिपय स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । बागमती प्रदेशका पहाडी भू–भागहरूमा राति आंशिकदेखि सामान्य बदली रहनेछ सम्भावना छ ।
थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्छ ।

























