सुनसरीमा ट्रक र पिकअप ठोक्किएर दुर्घटना, ५ जना घाइते

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार ०७:४९

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा ट्रक र पिकअप ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

कोशी ब्यारेजबाट इनरुवातर्फ आउँदै गरेको को २ च २१४४ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ६१५ नम्बरको ट्रक एकआपसमा ठोक्किएर शुक्रबार राति ८ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएर अनियन्त्रित बनेको पिकअप अर्को मधेश प्रदेश ०१–००१ ख ०३५५ नम्बरको ट्रकसँग ठोक्किन पुगेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर पिकअपमा सवार सुनसरीको इनरुवा नगरपालिका–३ की २२ वर्षीया सुशीला सदा, ३० वर्षीय मीना सदा, देवकश्रकुमारी सदा, श्यामकुमारी सदा र २० वर्षीया तारा सदा घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै पिकअप चालक इनरुवा–८ का २९ वर्षीय रामचरित्र महतो फरार भएका छन् । साथै, ट्रक चालकहरु ६१५ नम्बरको सप्तरी घर भएका ३३ वर्षीय राजकुमार साह र धादिङका २८ वर्षीय अञ्जन ढुंगेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.