अभिनेता एजाजविरुद्ध बलात्कार मुद्दा, अदालतद्वारा अग्रिम जमानत अस्वीकार

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ३, शनिबार १३:१७

काठमाडौं । भारत, मुम्बईको एक सेसन अदालतले बिहीबार अभिनेता एजाज खानको अग्रिम जमानतको निवेदन खारेज गरेको छ। एजाजविरुद्ध एक अभिनेत्रीले बलात्कारको मुद्दा दायर गरेकी थिइन्। पीडित महिलाले एजाजले विवाहको बहानामा उनीसँग सम्बन्ध राखेको आरोप लगाएकी छिन्।

यसैबिच खानले मुद्दामा आफ्नो निवेदनमा महिलालाई आफू पहिले नै विवाहित भएको थाहा भएको दाबी गरेका छन्। उनका अनुसार दुई बिच जे भयो त्यो आपसी सहमतिमा भएको थियो ।  एजाजले अदालतलाई उनीसँग व्हाट्सएप च्याट र भिडियोको रूपमा प्रमाण रहेको बताएका थिए । मुद्दा फिर्ता लिनको लागि महिलाले आफूसँग १० लाख भारतीय रुपैयाँ माग गरेको पनि आरोप लगाएका छन्।

यस मुद्दामा चारकोप प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको थियो। उजुरीमा महिलाले खानले आफूलाई सेलिब्रेटी र रियालिटी शो होस्टको रूपमा परिचय दिएर प्रभावित पारेको बताइन्। महिलाका अनुसार खानले अप्रिल महिनामा उनीसँग विवाह गर्ने र आर्थिक सहयोग गर्ने आश्वासन दिएर धेरै पटक शारीरिक सम्बन्ध राखेका थिए।

यद्यपि, प्रहरीले एजाजको अग्रिम जमानतको विरोध गर्‍यो। प्रहरीले यस विषयमा अनुसन्धान आवश्यक रहेको बताएको छ। एजाजको फोन अझै बरामद नभएको र च्याटहरूको जाँच गर्न बाँकी रहेको तथा अन्य डिजिटल प्रमाणहरू सङ्कलन गर्न बाँकी रहेको बताएको थियो।

अदालतले व्हाट्सएप च्याटमा महिलाले पैसा मागेको कुनै पनि कुरा नदेखिएको बतायो। यस्तो अवस्थामा, हिरासतमा एजाजसँग सोधपुछ आवश्यक रहेको अदालतको भनाई थियो ।  साथै, प्रहरीले खान पहिले पनि लागूऔषध मुद्दामा संलग्न रहेको जानकारी दिएको थियो। यदि उनले अग्रिम जमानत पाए भने, उनले प्रमाण नष्ट गर्न वा साक्षीहरूलाई प्रभाव पार्न सक्ने तर्क प्रहरीको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.