
विराटनगर । विराटनगर जुट मिल्सको परिसरमा रहेको ‘हटताली हाट’ एउटा चोक मात्र नभएर नेपालको प्रजातान्त्रिक आन्दोलनको जिउँदो इतिहास हो ।
२००७ सालतिर गिरिजाप्रसाद कोइराला मनमोहन अधिकारीलगायले यहीँका बरपिपलको फेदबाट मजदुर आन्दोलनको नेतृत्व गर्दै देशमा प्रजातन्त्रको बिगुल फुकेका थिए । तर, आज त्यही इतिहासको साक्षी रहेको चौतारीमा बसेर स्थानीय बासिन्दा आफ्नै भविष्यप्रति त्रसित छन् ।

विराटनगर जुट मिल्स बन्द भएको दशकौँ भइसक्यो । तर, यहाँका मजदुर क्वार्टर र खाली जग्गामा पुस्तौँदेखि ४०० भन्दा बढी परिवार बसिरहेका छन् । उनीहरु उठिबास हुने चिन्तामा छन् ।
हाटताली हाटमा एक्लै बस्दै आएकी कमला मगरको व्यथा सुन्दा जोकोहीको मन अमिलो हुन्छ । जुट मिल्समै काम गरेका श्रीमान् र एउटा छोरालाई गुमाइसकेकी कमलाका अर्का छोरा बेपत्ता छन् ।
पसल गरेर जीवन धानिरहेकी उनी डोजर आउने हल्लाले मर्माहत छिन् । उनले आक्रोश र पीडा मिसाउँदै भनिन्, ‘हामीलाई यसरी हटाउनु भन्दा अगाडि जहर (विष) दिनुहोस् । खाएर मर्न तयार छु । मेरा श्रीमान् यहीँ बिते । अब यो ठाउँ छाडेर म कहाँ जाऊँ ?’

यस्तै पीडा फिरोज शेखको पनि छ । उनका बाजेबुबाले यही मिल्समा पसिना बगाए । उनको जन्म पनि यहीँ भयो । ‘हटाउने कुरा त चल्छ । तर, हामी कहाँ जाने ? हाम्रो त जाने ठाउँ नै छैन,’ फिरोजले प्रश्न गरे ।
७० वर्षीय कृष्णबहादुर क्षेत्रीका अनुसार ठूला नेताले हटताली हाटमा मजदुरका हकहितका कुरा गर्थे । ‘नेताहरूले चुनावका बेला यहीँ आएर आश्वासन दिन्थे । अहिले तिनैले हटाउने कुरा गर्दैछन्,’ उनले खिन्न हुँदै भने । डोजरको त्राससँगै मनमा उकुसमुकुस भएको उनी बताउँछन् ।
स्थानीय बादल चन्दको माग भने अलि फरक छ । उनी भन्छन्, ‘सरकारले हामीलाई बस्ने विकल्प र रोजगारी दिन्छ भने हामी यो ठाउँ छाड्न तयार छौँ ।’ प्रजातन्त्र ल्याउन जग हाल्ने मजदुरका सन्तानहरू आज आफैँ राज्यबाट असुरक्षित महसुस गरिरहेका छन् ।

विराटनगर जुट मिल्सका सुपरभाइजर मनोज खड्काका अनुसार मिल्सको ६९ बिघामध्ये १४ बिघाभन्दा बढी जग्गामा सुकुम्बासी र पूर्वमजदुरको बसोबास छ । ‘सरकारले मजदुरको हिसाब फरफारक गरेपछि कतिपयले ठाउँ छाडे । तर, कतिपय अझै बसिरहेका छन् । यहाँ वास्तविक सुकुम्बासी मात्र छैनन् । घर भाडामा लगाएर खानेहरू पनि छन्,’ उनले भने ।

मिल्समा रहेका ८० वटा साना–ठूला टहराहरूमा बस्नेहरूले लामो समयदेखि भाडा नतिरेको र पटकपटक ताकेता गर्दा पनि अटेर गरेको व्यवस्थापन पक्षको भनाइ छ ।

























