
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सार्वजनिक सवारीसाधनले यात्रुसँग लिने भाडादरको अनुगमन गर्न थालेको छ ।
सवारीसाधनले अत्यधिक भाडा लिने गरेको जनगुनासो बढेसँगै इन्स्पेक्टर राजन लम्सालको नेतृत्वमा अनुगमन सुरु भएको हो । पहिलो चरणमा विराटनगरका विभिन्न स्थान र बुढीगंगामा अनुगमन गरिएको छ ।
लम्सालका अनुसार बस, विंगर, माइक्रो, म्याजिक, ई–रिक्सा, अटो टेम्पोलगायतका यातायातका साधनको भाडादरको अनुगमन गरिएको हो । अनुगमनका क्रममा कतिपय सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइयो ।
‘२० रूपैयाँ लिनुपर्ने ठाउँमा ३० देखि ४० रूपैयाँसम्म लिने गरेको पाइयो । यात्रुसँग लिइएको बढी भाडा तत्काल फिर्ता गर्न लगाइएको छ,’ इन्स्पेक्टर लम्सालले भने । उनले आगामी दिनमा बढी भाडा नलिन र यात्रुमैत्री व्यवहार गर्न सार्वजनिक सवारीका चालकलाई सचेत गराइएको छ ।
अबदेखि बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने लम्साल बताउँछन् । ‘पहिलो चरणमा अनुगमन गरेर सचेत गराइएको छ । आगामी दिन पनि बढी भाडा लिएको पाइयो भने तत्काल कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने ।
कुनै सवारीसाधनले बढी भाडा लिएमा तत्काल टोली फ्री नम्बर १०३ मा जानकारी गराउन ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ ।


























