
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा एमाले पार्टी कार्यालय, च्यासलमा आज (शनिबार) आयोजित युवा उद्यमी सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने बताउँदै ओलीले भने, ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ । अब त्यो भ्रममा रहनु हुँदैन । साना साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ ।’
उनले एमालेभन्दा बाहिरकै एक जनाले आफूलाई केही दिनअघि देशलाई आरालो लाग्नबाट बच्नका लागि एमालेकै सरकार चाहिने बताएको पनि बताए । ‘अस्ति मलाई एमालेभन्दा बाहिरएको एक जनाले के भन्नुभयो भने यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, यस देशको अर्थतन्त्र र राजनीति बिग्रन नदिने हो भने पनि नेकपा एमालेको सरकारको नेतृत्वमा नभइ हुने रहेछ,’ ओलीले भने ।
























