विराटनगरमा प्रेस चौतारीको ‘डिजिटल मिडिया र एआई’ सम्बन्धी तालिम

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार १९:१०

विराटनगर । प्रेस चौतारी नेपाल मोरङको आयोजनामा सञ्चालित ‘डिजिटल मिडिया र एआई’ विषयक ३ दिने तालिम विराटनगरमा सम्पन्न भएको छ ।

पत्रकार तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जेठ १ देखि ३ गतेसम्म सञ्चालन गरिएको तालिममा मोरङका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । तालिम विराटनगर महानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले अहिलेको परिस्थितिमा यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताइन् । ‘पत्रकारिता तथ्य र प्रमाणमा आधारित हुनुपर्छ,’ उपप्रमुख कार्कीले भनिन्, ‘गल्ती औँल्याउने मात्र नभइ समाधानको बाटो देखाउने पनि पत्रकारको जिम्मेवारी हो ।’ उनले आवश्यकताको मूल्यांकन गर्दै यस्ता तालिमहरू नियमितरूपमा सञ्चालन गर्न महानगरपालिका तत्पर रहने बताइन् ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिँदो सञ्चार परिवेशमा पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताए । ‘विचार अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको आत्मा हो,’ उनले भने, ‘तर, पत्रकारितामा प्रमाण, सन्दर्भ र सन्तुलन अनिवार्य छ।’

सुस्केराले प्रेस चौतारीले सन् २०२५ लाई प्रशिक्षण वर्षको रूपमा लिएको जानकारी गराउँदै आगामी दिनमा अझ बढी प्राविधिक, संगठनात्मक तथा क्षमता विकाससँग सम्बन्धित तालिमहरू सञ्चालन गरिने बताए । प्रेस चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशीकी महासचिव जुनु भट्टराईलगायतले तालिमको महत्त्व र प्रभावबारे आ–आफ्नो धारणा राखेका थिए।

तालिममा सहभागी रेजिना भट्टराईले एआई (कृत्रिम बौद्धिकता) विषयक ज्ञान आफूले पहिले नबुझेको भए पनि यसले जीवनशैली र पत्रकारिताको शैलीमा ठूलो परिवर्तन ल्याउन सक्ने अनुभूति भएको बताइन् । अर्का सहभागी तेजेन्द्र भण्डारीले डिजिटल मिडिया, फोटो तथा भिडियो सामग्री निर्माण, रचनात्मक समाचार लेखन सिपहरु अत्यन्तै उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिए ।

तालिमको अध्यक्षता प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले गरेकी थिइन् । उनले पत्रकारहरूलाई डिजिटल प्लेटफर्मप्रति अभ्यस्त गराउने र प्रविधिमा अपडेट गराउने उद्देश्यअनुरूप तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।

पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गइरहेको समयमा यस्ता तालिमहरूले पत्रकारहरूको दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.